Link to home pageLanguagesLink to all Bible versions on this site
3
इस्राएलको विरुद्धमा साक्षीहरू बोलाइएको
1 हे इस्राएलका मानिसहरू हो, यो वचन सुन, जुन वचन याहवेहले तिमीहरूको विरुद्धमा बोल्नुभएको छ—मैले इजिप्टबाट ल्याएका सम्पूर्ण परिवारको विरुद्धमा:
2 “पृथ्वीका सारा घरानाका बीचबाट
मैले केवल तिमीहरूलाई मात्र चुनेको छु;
यसकारण म तिमीहरूलाई तिमीहरूका
सबै पापहरूको दण्ड दिनेछु।”
 
3 के एक-आपसमा सहमत नभएसम्म
दुई जना सँगसँगै हिँड्छन् र?
4 के जङ्गलमा शिकार नै नभेटी
सिंह गर्जन्छ र?
के सिंहले केही फेला नपारीकन
त्यो आफ्नो गुफाभित्र गर्जन्छ र?
5 के पासोमा चारो राखिएको छैन भने,
चरो पासोमा पर्छ र?
के पासोमा केही परेको छैन भने,
त्यो पासो भुइँबाट माथि आफैँ उछिटिन्छ र?
6 जब सहरमा तुरही फुकिन्छ,
तब के मानिसहरू डरले काम्दैनन् र?
जब सहरमा विपत्ति आउँछ,
के त्यो याहवेहले नपठाउनुभएसम्म आउँछ र?
 
7 निश्‍चय नै प्रभु याहवेहले
आफ्नो योजना उहाँका सेवक अगमवक्ताहरूलाई
प्रकट नगरी केही पनि गर्नुहुन्‍न।
 
8 सिंह गर्जेको सुनेर,
को भयभीत नहोला र?
प्रभु याहवेहले बोल्नुभएको छ;
अनि कसले अगमवाणी गर्दैन र?
 
9 अश्दोदका किल्‍लाहरू
र इजिप्टका किल्‍लाहरूलाई घोषणा गर:
“सामरियाका पर्वतहरूमा एकसाथ भेला होओ;
त्यसभित्र भएको ठूलो अशान्ति
र त्यसका आफ्नै मानिसहरूका बीचको थिचोमिचो हेर।”
 
10 याहवेह घोषणा गर्नुहुन्छ,
“कसरी उचित काम गर्ने भन्‍ने कुरा तिनीहरूलाई थाहा नै छैन;
तिनीहरूले खोसेका र लुटेका मालसामानहरू
तिनीहरूका किल्‍लाहरूमा थुपार्छन्।”

11 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

“शत्रुले तिमीहरूको देशमाथि आक्रमण गर्नेछ;
त्यसले तिमीहरूका बलिया गढहरूलाई नाश गर्नेछ,
र तिमीहरूका किल्‍लाहरूलाई लुटपाट गर्नेछ।”

12 याहवेह यसो भन्‍नुहुन्छ:

“जसरी एउटा गोठालोले सिंहको मुखबाट भेडाका
खुट्टाका दुई वटा हड्डीहरू अथवा एउटा कानको टुक्रा मात्र बचाउँछ,
त्यसरी नै सामरियामा बस्‍ने इस्राएलीहरू,
पलङको कुना र गद्दीमा बस्‍ने
थोरै मानिसहरू मात्र बचाइनेछन्।”

13 प्रभु याहवेह, सेनाहरूका परमेश्‍वर घोषणा गर्नुहुन्छ, “यो सुन, र याकोबको घरानाको विरुद्धमा यो चेतावनी देओ।

14 “जुन दिन इस्राएललाई त्यसका पापहरूका निम्ति दण्ड दिन्छु,
म बेथेल सहरका वेदीहरू ध्वस्त गर्नेछु;
वेदीका चारैतिरका सिङहरू काटिनेछन्,
र ती भुइँमा खस्‍नेछन्।
15 म गर्मीका महल सँगसँगै हिउँदका
महललाई पनि भत्काउनेछु;
हस्तीदन्तले सजिएका भवनहरू ध्वस्त पारिनेछन्,
र दरबारहरू भत्काइनेछन्,”
याहवेह घोषणा गर्नुहुन्छ।

<- आमोस 2आमोस 4 ->