5 तर विश्वास नगर्ने यहूदीहरूले चाहिँ ईर्ष्या गर्न थाले; त्यसकारण बजारका केही बदमास मानिसहरूको भीड जम्मा पारेर तिनीहरूले सहरमा हुलदङ्गा मच्चाउन थाले। त्यसपछि यासोनको घरको सामु तिनीहरूले पावल र सिलासलाई भीडका सामु ल्याउन खोजे। 6 तर जब त्यहाँ तिनीहरूलाई पाएनन्, तब तिनीहरूले यासोन र अरू केही विश्वासीहरूलाई सहरका अधिकृतहरूका सामु घिस्याउँदै ल्याए, र यसो भनेर कराउन थाले: “संसारभरि समस्या खडा गर्ने यी मानिसहरू यहाँ आएका छन्। 7 अनि तिनीहरूलाई यासोनले आफ्नो घरमा स्वागत गरेको छ। तिनीहरू सबैले ‘येशू’ भन्ने अर्कै राजा छन् भन्दै, सिजरको आदेश र हुकुमप्रति अटेरी गरिरहेका छन्।” 8 यी सुनेका कुराहरूले त्यहाँ जम्मा भएका भीड र सहरका अधिकृतहरूलाई अत्याइदिए। 9 त्यसपछि तिनीहरूले यासोन र उनका साथ ल्याइएका अरूहरूसँग धरौटी लिएर तिनीहरूलाई छोडिदिए।
13 पावलले बेरियामा पनि परमेश्वरको वचनको प्रचार गरिरहेको भन्ने कुरा जब थेसलोनिकीका यहूदीहरूले थाहा पाए, तब तिनीहरू त्यहाँ पनि गए, र भीडलाई उक्साए। 14 अनि तुरुन्तै दाजुभाइ-दिदीबहिनीहरूले पावललाई समुद्रको किनारतिर पठाइदिए। तर सिलास र तिमोथीचाहिँ बेरियामै बसे। 15 पावललाई लिएर जानेहरूले तिनलाई एथेन्ससम्म पुर्याए। त्यसपछि सिलास र तिमोथी सकेसम्म आफूकहाँ छिटो आऊन् भन्ने पावलको आज्ञा लिएर तिनीहरू फर्के।
22 अनि अरियोपागसको त्यस सभामा पावलले उठेर यसो भने, “हे एथेन्सका मानिसहरू हो! म देख्दैछु, तपाईंहरू हरकिसिमले अति धार्मिक हुनुहुँदोरहेछ। 23 किनकि जब म यस सहरतिर घुम्दै जाँदा तपाईंहरूले पूजा गर्ने वस्तुहरूलाई हेरेँ, त्यहाँ एउटा वेदीमा मैले यस्तो लेखिएको भेट्टाएँ:
24 “यस संसार र यसभित्र भएका हरेक कुरालाई सृष्टि गर्नुहुने परमेश्वर स्वर्ग र पृथ्वीका प्रभु हुनुहुन्छ र मानिसहरूका हातले निर्माण गरेका मन्दिरहरूमा उहाँ बस्नुहुन्न। 25 यदि उहाँलाई कुनै कुराको खाँचो पर्यो भने मानिसका हातबाट त्यसको सेवा लिनुहुन्न; किनकि उहाँ आफैँले सबै मानिसहरूलाई जीवन, सास र अरू सबै कुरा दिनुहुन्छ। 26 अनि उहाँले एक जना मानिसबाट पृथ्वीभरि बसोबास गराउनलाई सबै जातिका मानिसहरूलाई बनाउनुभयो; अनि तिनीहरूले बस्नुपर्ने ठाउँहरू र समयको सीमा पनि तोकिदिनुभयो। 27 मानिसहरूले उहाँलाई खोजून् र खोज्दै जाँदा भेट्टाऊन् पनि भनेर परमेश्वरले त्यसो गर्नुभयो। तर पनि उहाँ हामीबाट टाढा हुनुहुन्न। 28 ‘किनकि हामी उहाँसँग जिउँदछौँ, हिँड्दछौँ र उहाँमा नै हाम्रो अस्तित्व रहेको छ।’ तपाईंकै केही कविहरूले पनि यही कुरा यसरी भनेका छन्: ‘हामी पनि उहाँकै सन्तान हौँ।’
29 “त्यसैले हामी परमेश्वरका सन्तान भएको कारण ईश्वर भनेको सुन वा चाँदी वा ढुङ्गाझैँ, मानिसको दक्षता र योजनाद्वारा निर्माण गरिएको एउटा मूर्तिजस्तो हुनुहुन्छ भनी हामीले सोच्नुहुँदैन। 30 बितेका समयमा यस्ता अज्ञानतामा परमेश्वरले ध्यान दिनुभएन, तर अब हरेक ठाउँका सबै मानिसहरूलाई उहाँले पश्चात्ताप गर्नू भन्ने आज्ञा दिनुहुन्छ। 31 किनकि उहाँले एउटा दिन निश्चित गर्नुभएको छ, जुन दिन आफूले नियुक्त गर्नुभएको मानिसद्वारा न्यायका साथ यस संसारको फैसला गर्नुहुनेछ। उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।”
32 जब तिनीहरूले मरेकाहरूको पुनरुत्थानको विषयमा सुने, तब कतिले गिल्ला गर्न थाले; तर अरूले भने, “यस विषयमा हामी तपाईंबाट फेरि सुन्न चाहन्छौँ।” 33 अनि पावल त्यस भीडबाट निस्केर बाहिर गए। 34 तर कतिपय मानिसहरू पावलसँग मिले, र विश्वास गरे। तिनीहरूमध्ये डियनुसियस, अरियोपागसका सदस्य थिए। साथै दामारिस नामकी एउटी स्त्री र अरूहरूले पनि विश्वास गरे।
<- प्रेरित 16प्रेरित 18 ->