13 शब्बाथमा सहरको द्वारबाट बाहिर निस्की हामी नदीतर्फ लाग्यौँ। हामीले त्यहाँ प्रार्थनाको एउटा स्थान पाउने आशा राखेका थियौँ। हामी त्यहाँ बस्यौँ र भेला भएका महिलाहरूसँग कुरा गर्न थाल्यौँ। 14 अनि हाम्रो कुरा सुन्ने महिलाहरूमध्ये एक जना थिआटीरा सहरकी, बैजनी रङ्गको कपडाको व्यापार गर्ने लिडिया नामकी महिला थिइन्। तिनी परमेश्वरकी भक्त थिइन्। पावलद्वारा बोलिएका कुराहरूमा ध्यान जान सकोस् भनेर परमेश्वरले तिनको हृदय खोलिदिनुभयो। 15 जब तिनी र तिनका घरका सबै सदस्यहरूको बप्तिस्मा भयो, तब तिनले हामीलाई आफ्नो घरमा निम्त्याइन्। तिनले “यदि तपाईं मलाई प्रभुको विश्वासी ठहराउनुहुन्छ भने मेरा घरमा आउनुहोस् र बस्नुहोस्” भनेर हामीलाई कर गरिन्।
19 जब त्यस कमारी केटीका मालिकहरूले आफ्नो आम्दानीको आशा मरेको थाहा पाए, तब तिनीहरूले पावल र सिलासलाई समातेर बजारबाट घिस्याउँदै अधिकारीहरूकहाँ लगे। 20 अनि उनीहरूलाई हाकिमहरूकहाँ लगेर यसो भने, “यी मानिसहरू यहूदीहरू हुन्, र यिनीहरू हाम्रा सहरमा गोलमाल मच्चाउँदै छन्। 21 यिनीहरू हामी रोमीहरूले स्वीकार गर्न वा पालन गर्न उचित नहुने रीतिथिति सिकाउँदैछन्।”
22 तब त्यो भीड पावल र सिलासमाथि जाइलाग्न एक भए। अनि हाकिमहरूले तिनीहरूका वस्त्र च्यातिदिए, र छडी लगाउने हुकुम दिए। 23 तिनीहरूलाई धेरै छडी लगाएपछि झ्यालखानाको प्रमुखलाई सावधानीपूर्वक तिनीहरूको निगरानी गर्ने हुकुम दिए। 24 यस्तो हुकुम पाएपछि झ्यालखानाका सुरक्षाकर्मीले पनि तिनीहरूलाई सबैभन्दा भित्रको कोठामा लगेर थुने, र तिनीहरूका खुट्टामा काठको ठिँगुराहरू ठोके।
25 मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरको भजन गाइरहेका थिए। अनि त्यहाँका अरू बन्दीहरूले चाहिँ सुनिरहेका थिए। 26 अकस्मात् एउटा ठूलो भूकम्प आयो, र झ्यालखानाका जगहरू हल्लिन थाले। तुरुन्तै त्यसका सबै ढोकाहरू खोलिए र सबै बन्दीहरूका बन्धनहरू पनि खोलिए। 27 झ्यालखानाका प्रमुख निद्राबाट बिउँझे। जब तिनले झ्यालखानाका ढोकाहरू खोलिएका देखे, तब तिनले आफ्नो तरवार म्यानबाट थुतेर आफैँलाई मार्न खोजे। किनकि तिनले सबै बन्दीहरू भागे होलान् भनी ठानेका थिए। 28 तर त्यो देखेर पावल ठूलो सोरले कराए, “आफूलाई केही हानि नगर्नुहोस्; किनकि हामी सबै यहीँ नै छौँ!”
29 तब ती झ्यालखानाका प्रमुख बत्ती बालेर दगुर्दै भित्र गए। अनि पावल र सिलासको सामु डरले थरथर काम्दै घोप्टो परे। 30 त्यसपछि तिनीहरूलाई बाहिर ल्याएर तिनले सोधे, “आदरणीय जनहरू हो, मुक्ति पाउनका निम्ति मैले के गर्नुपर्छ?”
31 तिनीहरूले जवाफ दिए, “प्रभु येशूमा विश्वास गर्नुहोस्, तपाईं र तपाईंका परिवारले उद्धार पाउनुहुनेछ।” 32 त्यसपछि पावल र सिलासले तिनलाई र तिनका घरमा भएका सबै जनालाई प्रभुको वचन सुनाए। 33 रातको त्यस पहरमा ती झ्यालखानाका प्रमुखले तिनीहरूलाई बाहिर लगेर तिनका घाउहरू धोइदिए। अनि तिनी र तिनका परिवारले तुरुन्तै बप्तिस्मा लिए। 34 झ्यालखानाका प्रमुखले आफ्नो घरमा तिनीहरूलाई ल्याए, र तिनीहरूका अगाडि भोजन राखिदिए। तिनी अब आनन्दले भरिए; किनकि तिनी र तिनका पूरा परिवारले परमेश्वरमा विश्वास गरेका थिए।
35 उज्यालो भएपछि, हाकिमहरूले आफ्ना अधिकृतहरूलाई यो आदेशका साथ झ्यालखानाका प्रमुखकहाँ पठाए: “ती मानिसहरूलाई छोडिदेऊ!” 36 त्यो सुनेर झ्यालखानाका प्रमुखले पावललाई भने, “हाकिमले तपाईं र सिलासलाई छोडिदिनू भनी आदेश दिनुभएको छ। यसैले अब तपाईंहरू निस्केर शान्तिसाथ जानुहोस्!”
37 तर पावलले अधिकृतहरूलाई भने: “हामी रोमी नागरिक हुँदा-हुँदै पनि कुनै सुनुवाइविना तिनीहरूले हामीलाई खुल्लमखुल्ला पिटे र झ्यालखानामा ल्याएर थुने। अब के तिनीहरू हामीलाई कसैले थाहा नपाउने गरी गोप्य तरिकाले छोड्न चाहन्छन्? होइन, तिनीहरू आफैँ यहाँ आउनुपर्छ र हामीलाई बाहिर लिएर जानुपर्छ।”
38 अधिकृतहरूले यो कुरा हाकिमहरूलाई सुनाइदिए। अनि उनीहरू त रोमी नागरिक रहेछन् भन्ने सुनेर तिनीहरू तर्सिए। 39 तिनीहरू पावल र सिलासलाई खुशी पार्न आए। अनि झ्यालखानाबाट बाहिर निकालेर सहर छोडेर जान अनुरोध गरे। 40 पावल र सिलास झ्यालखानाबाट बाहिर आएपछि तिनीहरू लिडियाको घर गए; र तिनीहरूले विश्वासीहरूलाई भेटे। अनि तिनीहरूलाई प्रोत्साहित गरे। त्यसपछि तिनीहरूले बिदा लिए।
<- प्रेरित 15प्रेरित 17 ->