7 तिनले आफूले बनाएका अशेरा देवीको खाँबो लिएर त्यसलाई मन्दिरमा राखे, जसको विषयमा याहवेहले दावीद र तिनका छोरा सोलोमनलाई यसो भन्नुभएको थियो, “यस मन्दिरमा र मैले इस्राएलीहरूका सबै कुलहरूबाट चुनेको यरूशलेममा म सदाका निम्ति आफ्नो नाम राख्नेछु। 8 यदि तिनीहरूले मैले तिनीहरूलाई आज्ञा गरेका प्रत्येक कुरा होसियारीसाथ पालन गरे, र मेरो सेवक मोशाले तिनीहरूलाई दिएका सम्पूर्ण व्यवस्था पालन गरे भने मैले तिनीहरूका पितापुर्खाहरूलाई दिएको यो देशबाट फेरि इस्राएलीहरूका पाउहरू यताउता घुमफिर गर्न म दिनेछैनँ।” 9 तर मानिसहरूले मानेनन्। मनश्शेले तिनीहरूलाई बहकाइदिए। तिनीहरूले इस्राएलीहरूको सामु याहवेहले नाश गर्नुभएका जातिहरूले भन्दा बढी दुष्टता गरे।
10 याहवेहले आफ्ना सेवक अगमवक्ताहरूद्वारा भन्नुभयो, 11 “यहूदाका राजा मनश्शेले यस्ता घिनलाग्दा पाप गरेको छ। उसले आफूभन्दा अगिका एमोरीहरूलेभन्दा बढी दुष्टता गरेर आफ्ना मूर्तिहरूद्वारा यहूदालाई पापमा डोर्याएको छ। 12 यसकारण याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: म यरूशलेम र यहूदामाथि यस्तो विपत्ति ल्याउनेछु, कि यसको बारेमा सुन्ने हरेकका कान झन्झनाउनेछन्। 13 म यरूशलेममाथि सामरियाको विरुद्धमा प्रयोग गरिएको नाप्ने टाँगो र आहाबको घरानाको विरुद्धमा प्रयोग गरिएको साहुल तेर्साउनेछु। यरूशलेमलाई कसैले थाल माझेर घोप्टाएझैँ म त्यसलाई उल्टो पारिदिनेछु। 14 आफ्नै अधिकारको बाँकी रहेको भागलाई त्यागिदिनेछु, र तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरू आफ्ना सबै शत्रुहरूद्वारा लुटिनेछन् र लुटका सामानसरह हुनेछन्। 15 तिनीहरूका पितापुर्खाहरू इजिप्टबाट निस्किआएको दिनदेखि आजसम्म नै तिनीहरूले मेरो दृष्टिमा जे दुष्टता छ, त्यही गरेर मलाई रिस उठाएका छन्।”
16 यसबाहेक मनश्शेले पनि यति धेरै निर्दोष रगत बगाए कि तिनले यरूशलेमलाई एक कुनादेखि अर्को कुनासम्म रगतले भरिदिए। यहूदालाई पाप गर्न लगाए र तिनीहरूले याहवेहको दृष्टिमा दुष्टता गरे।
17 मनश्शेको शासनका अरू घटनाहरू र तिनले गरेका सबै काम र तिनले गरेका पापहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र? 18 मनश्शे आफ्ना पुर्खाहरूसित विश्राममा गए। अनि आफ्नो महलको बगैँचामा अर्थात् उज्जाको बगैँचामा गाडिए। तिनीपछि तिनका छोरा आमोन राजा भए।
23 आमोनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेर राजालाई तिनकै महलमा हत्या गरे। 24 तब देशका मानिसहरूले आमोनलाई मार्ने सबैलाई मारे; अनि तिनीहरूले तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए।
25 आमोनको शासनका अरू घटनाहरू र तिनले गरेका कामहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 26 तिनी उज्जाको बगैँचामा आफ्नो चिहानमा गाडिए। तिनीपछि तिनका छोरा योशियाह राजा भए।
<- 2 राजाहरू 202 राजाहरू 22 ->