Link to home pageLanguagesLink to all Bible versions on this site
2
1 यसकारण तिमीहरूलाई कष्‍ट नहोस् भनी दोस्रो पल्ट तिमीहरूकहाँ नआउने नै मैले निश्‍चय गरेँ। 2 किनकि यदि मैले तिमीहरूलाई दुःखित बनाएँ भने, अरू कसले चाहिँ मलाई खुशी बनाउने त? किनकि मलाई खुशी बनाउने त तिमीहरू नै हौ। 3 अनि जसरी मैले अगिल्‍लो पत्रमा लेखेको थिएँ, कि म आउँदाखेरि जसबाट मैले आनन्द पाउनुपर्ने हो, तिनीहरूबाटै म दुःखित हुन नपरोस्। किनकि तिमीहरू सबैमाथि मेरो भरोसा छ, कि जुन कारणले म आनन्दित छु तिमीहरू पनि त्यही कारणले गर्दा आनन्दित हुन्छौ। 4 तिमीहरूलाई दुःखित तुल्याउन त होइन, तर तिमीहरूप्रति मेरो प्रेम कति प्रशस्त छ, सो तिमीहरूलाई थाहा होस् भनेर नै मैले मेरो अधिक पीडा, हृदयको वेदना र आँसुसहित तिमीहरूलाई त्यो लेखेको थिएँ।
पापको क्षमा
5 म कडा शब्दसँग त भन्दिनँ, तर यदि कसैले दुःखित तुल्याएको छ भने त्यसले मलाई होइन, तर एक प्रकारले तिमीहरू सबैलाई दुःखित तुल्याएको छ। 6 यस्तो व्यक्तिलाई बहुमतद्वारा दिइएको सजाय यथेष्‍ट छ। 7 अब यस्तो व्यक्ति झन् बढी शोकमा नडुबोस् भनेर तिमीहरूले उसलाई क्षमा दिएर सान्त्वना दिनुपर्छ। 8 यसकारण तिमीहरूले त्यस व्यक्तिप्रति तिमीहरूको प्रेम फेरि पक्‍का गर भनी म आग्रह गर्दछु। 9 मैले तिमीहरूलाई लेखेको कारणचाहिँ तिमीहरू जाँचमा स्थिर रहेर प्रत्येक कुरामा आज्ञाकारी छौ कि छैनौ भनेर थाहा पाउनका लागि हो। 10 तिमीहरूले कसैलाई क्षमा दियौ भने म पनि त्यसलाई क्षमा दिनेछु। यदि मैले केही कुरामा क्षमा दिएको छु भने त्यो मैले ख्रीष्‍टको उपस्थितिमा तिमीहरूकै निम्ति क्षमा दिएको छु; 11 शैतानले हामीलाई धोका नदेओस्; किनकि हामी त्यसका युक्तिहरूको विषयमा अनजान छैनौँ।
नयाँ करारका सेवकहरू
12 जब म ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआसमा गएँ, त्यहाँ प्रभुद्वारा मेरा लागि एउटा ढोका खोलिएको थियो। 13 मैले मेरा भाइ तीतसलाई त्यहाँ नभेट्टाउँदा मेरो मनमा शान्ति थिएन। यसकारण म तिनीहरूबाट बिदा भएर म्यासिडोनियातर्फ गएँ।

14 तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले हामीलाई ख्रीष्‍टको विजयको यात्रामा डोर्‍याउनुहुन्छ, र हामीद्वारा नै उहाँको ज्ञानको सुबास्‍ना चारैतिर फैलाउनुहुन्छ। 15 किनकि उद्धार पाइरहेकाहरू र नष्‍ट भइरहेकाहरूका बीचमा हामी परमेश्‍वरका निम्ति ख्रीष्‍टको मिठो सुबास्‍ना हौँ। 16 नष्‍ट भइरहेकाहरूका निम्ति मृत्युको गन्ध ल्याउन र उद्धार पाइरहेकाहरूका निम्ति जीवनको सुगन्ध ल्याउन यस्ता कामहरूका लागि को योग्यको छ र? 17 किनकि हामी ती मानिसहरूजस्ता परमेश्‍वरको वचनलाई लाभका निम्ति व्यापार गर्ने होइनौँ। बरु परमेश्‍वरबाट पठाइएका मानिसहरूजस्ता हामी परमेश्‍वरको सामु ख्रीष्‍टमा छलरहित कुरा बोल्दछौँ।

<- 2 कोरिन्थी 12 कोरिन्थी 3 ->