14 अब म तेस्रो पल्ट तिमीहरूकहाँ आउन तयार छु, र म तिमीहरूका निम्ति बोझ बन्नेछैनँ; किनकि म तिमीहरूको सम्पत्ति होइन, तर तिमीहरूलाई चाहन्छु। बालबच्चाहरूले आमाबुबाको निम्ति सञ्चय गर्नुपर्ने होइन, तर आमाबुबाले पो बालबच्चाहरूका निम्ति सञ्चय गर्नुपर्छ। 15 यसकारण मसित जे छन्, ती म तिमीहरूका निम्ति खुशीसित खर्च गर्नेछु; अनि म आफैँ पनि तिमीहरूका निम्ति खर्चिनेछु। यदि मैले तिमीहरूलाई धेरै प्रेम गरेँ भने के तिमीहरूले चाहिँ मलाई थोरै प्रेम गर्नेछौ? 16 जे भए तापनि म तिमीहरूको बोझ भइनँ; तर पनि मैले चलाकी गरेर तिमीहरूलाई धूर्ततापूर्वक फसाएँ भनी भन्लान्! 17 के मैले पठाएका कुनै मानिसद्वारा मैले तिमीहरूलाई शोषण गरेँ? 18 मैले तीतसलाई तिमीहरूकहाँ जानलाई आग्रह गरेँ, र मैले हाम्रा भाइलाई तिनीसित पठाएँ। तीतसले तिमीहरूलाई शोषण गरेनन्, के त्यसो गरे त? के हामीले त्यही आत्मामा काम गरेर त्यही बाटो पहिल्याएनौँ र?
19 हामीले तिमीहरूप्रति आफ्नै बारेमा सफाइ दिइरहेका छौँ भनी के सधैँ तिमीहरूले सम्झिरहेका छौ? ख्रीष्टमा भएकाहरूझैँ, हामीले परमेश्वरकै दृष्टिमा बोलिरहेका छौँ। अनि हे प्रिय मित्रहरू हो, हामी जे गर्छौँ, त्यो तिमीहरूलाई बलियो तुल्याउनका लागि नै हो। 20 किनकि म आउँदा मैले चाहेजस्तो तिमीहरूलाई नभेट्टाउँला, र तिमीहरूले पनि मलाई जस्तो भएको चाहन्छौ, त्यस्तो नभेट्टाऔला भन्ने मलाई डर लागेको छ। सायद मतभिन्नता, ईर्ष्या, क्रोध, स्वार्थी महत्त्वाकांक्षा, निन्दा, कुरा काट्ने, अहङ्कार र अस्तव्यस्त पनि होला भन्ने मलाई डर लागेको छ। 21 म फेरि आउँदा मेरा परमेश्वरले मलाई तिमीहरूको सामु होच्याउनु होला भन्ने मलाई डर लागेको छ। अनि म ती धेरै जनासित दुःखी हुनेछु, जसले पहिल्यै पाप गरेर पनि तिनीहरू संलग्न रहेका अशुद्धताबाट, यौन सम्बन्धी पापबाट र भ्रष्ट आचरणबाट पश्चात्ताप गरेका छैनन्।
<- 2 कोरिन्थी 112 कोरिन्थी 13 ->