5 “तिमीहरूका सङ्गी-दाजुभाइ, साधारण मानिसहरूका साना-साना प्रत्येक दलका निम्ति लेवीहरूका एक झुण्डसित पवित्रस्थानमा उभिनू। 6 याहवेहले मोशाद्वारा आज्ञा दिनुभएअनुसार निस्तारको थुमालाई मार्नू। आफूलाई पवित्र बनाउनू र तिमीहरूका सङ्गी-देशवासीहरूका निम्ति थुमाहरू तयार पार्नू।”
7 योशियाहले त्यहाँ भएका सबै साधारण मानिसहरूका निम्ति निस्तार चाड बलिदानको लागि तीस हजार भेडाबाख्राहरू र तीन हजार पशुहरू सबै राजाकै सम्पत्तिबाट प्रबन्ध गरिदिए।
8 तिनका अधिकृतहरूले पनि मानिसहरू, पुजारीहरू र लेवीहरूलाई स्वेच्छापूर्वक उपहार दिए। परमेश्वरको भवनका प्रशासकहरू हिल्कियाह, जकरिया र यहीएलले पुजारीहरूलाई छब्बीस सय वटा निस्तारका थुमा र तीन सय पशुहरू दिए। 9 केनन्याह र तिनका भाइहरू शमायाह र नथनिएल साथै लेवीहरूका अगुवाहरू हशब्याह, यीएल र योजाबादले लेवीहरूका निम्ति पाँच हजार निस्तार थुमा र पाँच सय पशुहरू प्रबन्ध गरिदिए।
10 यसरी सेवा आयोजन गरियो; अनि राजाले हुकुम गरेझैँ पुजारीहरू दल-दलमा रहेका लेवीहरूसित खडा भए। 11 निस्तारका थुमाहरू मारिए; अनि पुजारीहरूले तिनीहरूलाई दिइएको रगत वेदीमा छर्के, र लेवीहरूले पशुहरूका छाला काढे। 12 मोशाको पुस्तकमा लेखिएझैँ तिनीहरूले याहवेहका निम्ति चढाउनलाई मानिसहरूका परिवारहरूका साना-साना दलहरूलाई दिन भनी होमबलिहरू अलग गरे। तिनीहरूले गोरुहरूलाई पनि त्यसै गरे। 13 तिनीहरूले निस्तारका पशुहरूलाई विधिअनुसार आगोमा पोले; र पवित्र भेटीहरूलाई भाँडाहरू, कराहीहरू, ताप्केहरूमा उमाले र सबै मानिसहरूलाई छिटो-छिटो गरी दिए। 14 त्यसपछि तिनीहरूले आफ्नै निम्ति र पुजारीहरूका निम्ति तयारी गरे; किनकि हारूनका सन्तान पुजारीहरू रात परेसम्म होमबलि र बोसोको भाग चढाइरहेका थिए। यसरी लेवीहरूले आफ्नै निम्ति र हारूनवंशी पुजारीहरूका निम्ति तयारी गरे।
15 सङ्गीतकारहरू, आसापका सन्तान, दावीद, आसाप, हेमान र राजाका दर्शी यदूतूनले तोकिदिएका ठाउँहरूमा थिए। प्रत्येक मूलढोकाका द्वारपालहरूले आफ्नो ठाउँ छोड्नु आवश्यकता परेन; किनकि तिनीहरूका निम्ति तिनीहरूका सङ्गी-लेवीहरूले नै तयार गरिदिएका थिए।
16 यसकारण राजा योशियाहले हुकुम दिएझैँ निस्तार चाड मनाउनको लागि र याहवेहको वेदीमा होमबलि चढाउनलाई याहवेहको सम्पूर्ण सेवा सम्पन्न गरियो। 17 उपस्थित भएका इस्राएलीहरूले त्यस बेला निस्तार चाड मनाए, र सात दिनसम्म अखमिरी रोटीको चाड मनाए। 18 अगमवक्ता शमूएलको समयदेखि उसो इस्राएलमा यस्तो किसिमको निस्तार चाड मनाइएको थिएन। योशियाहले पुजारी, लेवी र यरूशलेमका मानिसहरूसित निस्तार चाड मनाएझैँ सबै यहूदा र इस्राएलका कुनै राजाले पनि कहिल्यै मनाएका थिएनन्। 19 योशियाहको शासनकालको अठारौँ वर्षमा यो निस्तार चाड मनाइएको थियो।
22 तरै पनि योशियाहले तिनको कुरा सुनेनन्; तर तिनीसित लडाइँ गर्नलाई तिनले आफ्नो भेष बदली गरे। तिनले परमेश्वरको आज्ञामा फारो नेकोले भनेको कुरा सुनेनन्, तर तिनीसित लडाइँ गर्नलाई मगिद्दोको मैदानमा गए।
23 धनुर्धारीहरूले राजा योशियाहलाई काँडले हाने; तब तिनले आफ्ना अधिकृतहरूलाई भने, “मलाई लैजाऊ; मलाई गहिरो चोट लागेको छ।” 24 यसकारण उनीहरूले तिनलाई आफ्नो रथबाट निकालेर तिनको अर्को रथमा चढाएर यरूशलेममा ल्याए। अनि तिनी त्यहीँ नै मरे, र आफ्ना पुर्खाहरूका चिहानहरूमा गाडिए। यसरी सारा यहूदा र यरूशलेमले तिनका निम्ति शोक गरे।
25 यर्मियाले योशियाहका निम्ति विलापका गीतहरू रचे। आजको दिनसम्म नै पुरुष र स्त्री गायक-गायिकाहरूले तिनको स्मृतिमा विलापका गीत गाउँछन्। इस्राएलमा यो एउटा विधि नै भयो र यी विलापको पुस्तकमा लेखिएका छन्।
26 योशियाहको शासनकालका अरू घटनाहरू र याहवेहको व्यवस्थामा लेखिएअनुसार तिनका भक्तिका कामहरू, 27 सुरुदेखि अन्त्यसम्मका सबै घटनाहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्।
<- 2 इतिहास 342 इतिहास 36 ->