6 तिनले मानिसहरूमाथि सैन्य अधिकृतहरू नियुक्त गरेर तिनीहरूलाई सहरको मूलढोकाको चोकमा आफ्नो सामु भेला गरे। अनि यसो भनेर तिनीहरूलाई उत्साह दिए, “बलिया र साहसी होओ। 7 अश्शूरका राजा र तिनको विशाल फौजदेखि नडराओ; किनकि हामीसित हुनुहुने तिनीसित भएकाहरूभन्दा महान् हुनुहुन्छ। 8 तिनीसित शारीरिक हतियारहरू मात्र छन्, तर हामीसित हामीलाई सहायता गर्ने र हाम्रा युद्धहरू लडिदिनुहुने याहवेह हाम्रा परमेश्वर हुनुहुन्छ।” यसरी यहूदाका राजा हिजकियाले भनेका कुराबाट मानिसहरूले आत्मबल पाए।
9 त्यसपछि जब अश्शूरका राजा सनहेरीब र तिनका सबै दलहरूले लाकीशलाई घेरा हलिरहेका थिए, तब तिनले आफ्ना अधिकृतहरूलाई यहूदाका राजा हिजकिया र त्यहाँ भएका सम्पूर्ण यहूदावासीहरूका निम्ति यो सन्देशको साथ यरूशलेममा पठाए:
16 सनहेरीबका अधिकृतहरूले याहवेह परमेश्वरको र उहाँको सेवक हिजकियाको विरुद्धमा अरू कुराहरू पनि बोले। 17 राजाले याहवेह इस्राएलका परमेश्वरलाई अपमान गर्दै यसो भन्दै उहाँको विरोध गरेर पत्र लेखे: “अरू देशहरूका मानिसहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट छुटाउन नसकेझैँ हिजकियाका ईश्वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट छुटाउनेछैन।” 18 तब सहरलाई कब्जा गर्नलाई तिनीहरूले पर्खालमा भएका यरूशलेमका मानिसहरूलाई आतङ्कित बनाउन र तर्साउनलाई तिनीहरूलाई हिब्रू भाषामा हपारे। 19 यरूशलेमका परमेश्वरको विषयमा तिनीहरूले संसारका अरू जातिहरूका देवताहरूको विषयमाझैँ मानिसहरूका हातका काम मात्र हो भनी भने।
20 राजा हिजकिया र आमोजका छोरा अगमवक्ता यशैयाले यस विषयमा स्वर्गतिर पुकार गरेर प्रार्थना गरे। 21 तब याहवेहले एउटा स्वर्गदूत पठाउनुभयो र तिनले अश्शूरका राजाका छाउनीमा भएका लडाकु मानिसहरू, अगुवाहरू र अधिकृतहरूको नामनिशानै मेटिदिए। यसरी तिनी अपमानित भएर आफ्नै देशमा फर्के। तिनी आफ्नै देवताको मन्दिरमा गएपछि तिनका आफ्नै छोराहरूमध्ये केहीले तिनलाई तरवारले छिनाइदिए।
22 यसरी याहवेहले हिजकिया र यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब र अरू सबैका हातबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिरबाट रक्षा गर्नुभयो। 23 धेरैले याहवेहको निम्ति यरूशलेममा भेटीहरू र यहूदाका राजा हिजकियाको निम्ति बहुमूल्य उपहारहरू ल्याए। त्यस समयदेखि उसो राजा हिजकियालाई सबै जातिहरूले अति सम्मान गर्न थाले।
27 हिजकियासित धेरै धनसम्पत्ति र सम्मान थियो; अनि तिनले आफ्ना चाँदी र सुनको निम्ति र आफ्ना बहुमूल्य पत्थरहरू, मसलाहरू, ढालहरू र सबै किसिमका बहुमूल्य चीजहरूको निम्ति भण्डारहरू बनाए। 28 तिनले अन्नको कटनी, नयाँ दाखमद्य र जैतुन तेल सुरक्षित राख्ने गोदामहरू बनाए। तब तिनले विभिन्न किसिमका जन्तुहरूका निम्ति तबेलाहरू र आफ्ना बगालका निम्ति गोठहरू पनि बनाए। 29 तिनले नगरहरू निर्माण गरे, र धेरै संख्यामा बगाल र बथानहरू प्राप्त गरे; किनकि परमेश्वरले तिनलाई धेरै धनसम्पत्ति दिनुभएको थियो।
30 गीहोनको पानीको मूलको माथिल्लो निकासलाई थुनेर त्यस पानीलाई कुलोद्वारा दावीदको सहरको पश्चिम भागतिर लैजाने हिजकिया नै थिए। आफूले गरेका हरेक काममा उनी सफल हुन्थे। 31 तर बेबिलोनका शासकहरूले त्यस देशमा भएको अचम्मको चिन्हको विषयमा सोध्न भनी प्रतिनिधिहरू पठाउँदा परमेश्वरले तिनका मनमा रहेका सबै कुरा जान्नको लागि परीक्षा गर्न तिनलाई छोडिदिनुभयो।
32 हिजकियाका शासनका अरू घटनाहरू र तिनका भक्तिका कार्यहरू, आमोजका छोरा अगमवक्ता यशैयाका दर्शनमा यहूदा र इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छन्। 33 हिजकिया आफ्ना पुर्खाहरूसित सुते; अनि दावीदका सन्तानहरूका चिहानहरू भएको डाँडामा गाडिए। तिनको मृत्यु हुँदा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई सम्मान दिए। तिनीपछि तिनका छोरा मनश्शे राजा भए।
<- 2 इतिहास 312 इतिहास 33 ->