2 राजा हुँदा अहज्याह बाइस वर्षका[a] थिए। तिनले यरूशलेममा एक वर्ष राज्य गरे। तिनकी आमाको नाम अतल्याह थियो, जो ओम्रीकी नातिनी थिइन्।
3 तिनी पनि आहाबका घरानाकै चालहरूमा हिँडे; किनकि तिनकी आमाले तिनलाई दुष्ट काम गर्न उत्साह दिइन्। 4 तिनले आहाबको घरानाले गरेझैँ याहवेहको दृष्टिमा दुष्टता गरे। किनकि तिनका पिताको मृत्युपछि तिनीहरू तिनका खराब कामहरूमा सल्लाहकार भए। 5 तिनी रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न इस्राएलका राजा आहाबका छोरा योरामसित गए; अनि तिनीहरूका सल्लाहअनुसार हिँडे। अरामीहरूले योरामलाई घाइते बनाए। 6 यसकारण अरामका राजा हजाएलसित रामोतमा लडाइँ गर्न जाँदा अरामीहरूले तिनलाई घाइते बनाएका थिए, र त्यसबाट निको हुन योराम यिजरेलमा फर्के।
7 योरामलाई भेट्न तिनी गएको कारण परमेश्वरले अहज्याहमाथि पतन ल्याउनुभयो। अहज्याह आइपुगेपछि तिनी योरामसित निम्शीका छोरा येहूलाई भेट्न बाहिर गए, जसलाई आहाबको घरानालाई नाश गर्न भनी याहवेहले नियुक्त गर्नुभएको थियो। 8 येहूले आहाबको घरानामाथि न्याय गरिरहेको बेला तिनले अहज्याहकहाँ गएका यहूदाका राजकुमारहरू र अहज्याहका आफन्तहरूका छोराहरूलाई भेट्टाए, जो अहज्याहका अधिकारीहरू थिए। येहूले तिनीहरू सबैलाई मारिदिए। 9 त्यसपछि तिनी अहज्याहलाई खोज्न निस्के। तिनका मानिसहरूले तिनी सामरियामा लुकिरहेको बेला पक्रे। तिनी येहूकहाँ लगिए र तिनी मारिए। तिनीहरूले तिनलाई गाडेर भने, “तिनी याहवेहलाई सम्पूर्ण हृदयले खोज्ने यहोशापातका छोरा थिए।” यसरी त्यस राज्यलाई स्थिर राख्नलाई सामर्थ्य भएको कुनै व्यक्ति अहज्याहको घरानामा थिएन।