8 आसाले यी कुरा र अगमवक्ता ओदेदका छोरा अजर्याहका भविष्यवाणी सुनेपछि साहस पाए। तिनले सम्पूर्ण यहूदा र बेन्यामीनबाट, साथै तिनले एफ्राइमको पहाडी मुलुकबाट कब्जा गरेका सहरहरूबाट घिनलाग्दा मूर्तिहरू हटाइदिए। तिनले याहवेहको मन्दिरको दलानको अगिल्तिर भएको वेदी मर्मत गरे।
9 त्यसपछि तिनले सबै यहूदा र बेन्यामीन, एफ्राइमका मानिसहरू, साथै तिनीहरूसित बसोबास गर्ने मनश्शे र शिमियोनका मानिसहरूलाई भेला गरे। किनकि याहवेह तिनका परमेश्वर तिनीसित हुनुहुन्छ भनी तिनीहरूले देखेर इस्राएलबाट ठूलो संख्यामा तिनीहरू उनीकहाँ आएका थिए।
10 तिनीहरू आसाको शासनकालको पन्ध्रौँ वर्षको तेस्रो महिनामा यरूशलेममा भेला भए। 11 त्यस बेला तिनीहरूले याहवेहकहाँ तिनीहरूले लुटेर ल्याएका मालहरूबाट सात सय गोरु र सात हजार भेडाबाख्रा बलिदान चढाए। 12 तिनीहरू आफ्ना सम्पूर्ण हृदय र प्राणले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई खोजी गर्न भनी करार बाँधे। 13 याहवेह, इस्राएलका परमेश्वरलाई खोजी नगर्ने सबै ठूला र साना, पुरुष र स्त्रीलाई मारिने निर्णय भयो। 14 तुरही र नरसिङ्गाको साथमा ठूलो सोरले चिच्याएर याहवेहकहाँ जयध्वनिसाथ तिनीहरूले शपथ खाए। 15 तिनीहरूले सम्पूर्ण हृदयले शपथ खाएका हुनाले त्यस शपथको विषयमा सारा यहूदा रमाए। तिनीहरूले परमेश्वरलाई पूर्ण हृदयसाथ खोजी गरेका थिए; अनि तिनीहरूले उहाँलाई भेट्टाए। यसकारण याहवेहले तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो।
16 राजा आसाले आफ्नी हजुरआमा माकालाई राजमाताको पदबाट हटाइदिए; किनकि उनले अशेराको घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यस मूर्तिलाई काटेर ढालिदिए; र त्यसलाई टुक्रा-टुक्रा पारेर किद्रोन खोल्सामा जलाइदिए। 17 तिनले इस्राएलबाट अल्गा देवस्थानहरू नहटाए तापनि आसाको हृदय आफ्नो जीवनभरि नै याहवेहप्रति सम्पूर्ण रूपले अर्पित थियो। 18 तिनले परमेश्वरको मन्दिरमा आफ्ना पिताले अर्पण गरेका थोकहरू र आफैँले अर्पण गरेका चाँदी, सुन र अरू सामग्रीहरू ल्याए।
19 आसाको शासनकालको पैँतीसौँ वर्षसम्म कुनै युद्ध भएन।
<- 2 इतिहास 142 इतिहास 16 ->