3-4 परमेश्वरको इच्छा यही हो, कि तिमीहरू पवित्र होओ; हरेक जन पवित्र र आदरणीय भएर आफ्नो शरीरलाई[a] नियन्त्रणमा राख्न सिक। तिमीहरू अनैतिक यौन सम्बन्धबाट अलग बस। 5 तिमीहरू परमेश्वरलाई नचिन्नेहरूजस्ता कामुकताको कामवासनामा नबस। 6 यस विषयमा कसैले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खराबी नगरोस्, न त कुनै फाइदा उठाओस्। यस्ता पाप गर्ने सबैलाई हामीले पहिल्यै तिमीहरूलाई भनेझैँ र चेतावनी दिएझैँ, प्रभुले सजाय दिनुहुनेछ। 7 किनकि परमेश्वरले हामीलाई अशुद्धताको लागि होइन, तर पवित्र जीवन जिउनको लागि बोलाउनुभएको हो। 8 यसकारण जसले यो निर्देशनलाई इन्कार गर्छ, त्यसले मानिसलाई होइन, तर तिमीहरूलाई पवित्र आत्मा दिनुहुने परमेश्वरलाई नै इन्कार गर्छ।
9 अब दाजुभाइ-दिदीबहिनीहरूको प्रेमको विषयमा हामीले तिमीहरूलाई लेख्नु खाँचो छैन; किनकि एक-आपसमा प्रेम गर्नुपर्छ भनी तिमीहरू आफैँले परमेश्वरबाट सिकेका छौ। 10 वास्तवमै तिमीहरू म्यासिडोनियाभरि भएका परमेश्वरका जनहरूलाई प्रेम गर्दछौ; तापनि दाजुभाइ-दिदीबहिनीहरू हो, त्यो प्रेममा अझ बढ्दै जाओ भनी हामी तिमीहरूलाई आग्रह गर्दर्छौँ। 11 तिमीहरूले शान्तिपूर्ण जीवन जिउने लक्ष्य बनाओ। हामीले तिमीहरूलाई आदेश दिएझैँ, आफ्नै कामधन्धामा मन लगाउने र आफ्नै हातले काम गर्ने गर, 12 ताकि तिमीहरूको दैनिक जीवनको कारण तिमीहरूले बाहिरका मानिसहरूबाट आदर पाउन सक, र तिमीहरू कसैमाथि आफ्ना आवश्यकताका लागि निर्भर हुन नपरोस्।