7 तर आफ्ना बालबालिकाहरूलाई स्याहार्ने धाईआमाझैँ, हामी तिमीहरूका बीचमा कोमल भयौँ। 8 यसरी हामी तिमीहरूलाई वास्ता गर्छौँ; किनकि हामीले तिमीहरूलाई धेरै प्रेम गर्यौँ; यसैले तिमीहरूसँग परमेश्वरको सुसमाचार मात्र होइन, तर आफ्नै जीवन समेत बाँड्न खुशी भएका थियौँ। 9 किनकि दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्वरको सुसमाचार तिमीहरूलाई प्रचारिँदा कसैलाई पनि भार नहोस् भनेर हामीले दिनरात कडा परिश्रम गर्यौँ, यो कुरा निश्चय नै तिमीहरूलाई थाहा छ। 10 तिमीहरू र परमेश्वर स्वयम् साक्षी हुनुहुन्छ, कि तिमी विश्वासीहरूका बीचमा हाम्रो व्यवहार पवित्र, धार्मिक र निर्दोष थियो। 11 किनकि तिमीहरूलाई थाहा छ, तिमीहरू हरेकसँग बुबाले आफ्ना छोराछोरीहरूलाई गरेझैँ हामीले तिमीहरूसँग व्यवहार गर्यौँ; 12 ताकि उत्साह, सान्त्वना र आग्रहसित तिमीहरूले परमेश्वरको योग्य चाल चलेको होस्; जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ।
13 अनि यस कुराको निम्ति पनि हामी परमेश्वरलाई निरन्तर धन्यवाद चढाउँछौँ; किनकि तिमीहरूले हामीबाट सुनेका परमेश्वरको वचनलाई मानिसको वचनजस्तो होइन, तर परमेश्वरकै वचनको रूपमा स्वीकार गर्यौ; जुनचाहिँ वास्तवमा नै परमेश्वरको वचन हो, र यस वचनले तिमी विश्वास गर्नेहरूमा काम पनि गरिरहेको छ। 14 किनकि दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू ख्रीष्ट येशूमा यहूदियामा भएका परमेश्वरका मण्डलीहरूका अनुकरण गर्नेहरू भयौ; तिमीहरूले आफ्नै मानिसहरूबाट जे कष्ट भोग्यौ, त्यही ती मण्डलीहरूले यहूदीहरूबाट कष्ट भोगेका थिए। 15 ती यहूदीहरूले नै प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे, र हामीलाई पनि लखेटे। तिनीहरूले परमेश्वरलाई अप्रसन्न तुल्याउँछन्, र सबै मानिसहरूका विरोधी हुन्। 16 गैरयहूदीहरूको उद्धार नहोस् भनेर तिनीहरूले हामीलाई अरू जातिका मानिसहरूकहाँ मुक्तिको कुरा प्रचार गर्न दिएनन्। यसरी तिनीहरूले सधैँ आफ्ना पापहरूको थुप्रो लगाउँछन्। यसको परिणाम स्वरूप परमेश्वरको क्रोध तिनीहरूमाथि आइपरेको छ।