Link to home pageLanguagesLink to all Bible versions on this site
5
मण्डलीका प्रधानहरू र परमेश्‍वरका जनहरूलाई केही अर्तीहरू
1 तिमीहरूमध्येका मण्डलीका प्रधानहरूलाई, म एक सङ्गी प्रधानको नाताले, जो ख्रीष्‍टको दुःखको साक्षी र प्रकट हुन लागेको महिमामा सहभागीको हैसियतले, तिमीहरूलाई अनुरोध गर्दछु: 2 तिमीहरूको हेरचाहमा भएको परमेश्‍वरको बगालहरूको रखवालाको रूपमा गोठालो बनिदेओ। तिमीहरूले गर्नैपर्छ भनेर होइन, तर परमेश्‍वरले चाहनुभएझैँ तिमीहरूको इच्छापूर्वक; पैसाको लोभले होइन, तर तिमीहरूको उत्कट इच्छाले सेवा गर। 3 तिमीहरूको जिम्मामा रहेकाहरूमाथि प्रभुत्व जमाएर होइन, तर बगालको निम्ति नमुनाहरू भएर गर! 4 अनि जब प्रधान गोठालो देखा पर्नुहुनेछ, तब तिमीहरूले कहिल्यै नओइलाउने महिमाको मुकुट पाउनेछौ।

5 हे जवानहरू हो, यसरी नै मण्डलीका प्रधानहरूको अधीनमा बस! नम्रताको वस्त्र लगाएर एक-अर्काको सेवा गर; किनकि,

“परमेश्‍वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ,
तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”[a]
6 यसकारण परमेश्‍वरको शक्तिशाली हातमुनि आफूलाई नम्र बनाओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुहुनेछ। 7 तिमीहरूका सबै चिन्ता उहाँमाथि राख; किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।

8 संयमी र चनाखो होओ। तिमीहरूको शत्रु शैतान कसलाई भेट्टाऊँ र खाइहालूँ भनी गर्जने सिंहझैँ यताउति घुमिहिँड्छ। 9 विश्‍वासमा स्थिर भएर त्यसको प्रतिरोध गर; किनकि तिमीहरू जान्दछौ संसारभरि नै तिमीहरूका दाजुभाइहरूले त्यस्तै किसिमको कष्‍ट भोगिरहेका छन्।

10 सबै अनुग्रहका परमेश्‍वर, जसले तिमीहरूलाई ख्रीष्‍टमा आफ्नो अनन्त महिमामा बोलाउनुभएको छ; तिमीहरूले केही समयसम्म कष्‍ट भोगेपछि उहाँले नै तिमीहरूलाई पुनर्स्थापन गर्नुहुनेछ र तिमीहरूलाई बलिया, स्थिर र शक्तिशाली बनाउनुहुनेछ। 11 उहाँलाई नै पराक्रम सदासर्वदा भइरहोस्! आमेन।

 
अन्तिम अभिवादन
12 सिलासको[b] सहायताले, जसलाई म एक विश्‍वासयोग्य भाइ ठान्दछु, मैले तिमीहरूलाई उत्साह दिँदै र यही नै परमेश्‍वरको सत्य अनुग्रह भनी छोटकरीमा लेखेको छु। यसमा अटल रहो।
 
13 तिमीहरूसँगै छानिएकी बेबिलोनमा तिमीहरूकी बहिनीले[c] तिमीहरूलाई अभिवादन पठाएकी छिन्, साथै मेरा छोरा मर्कूसले पनि।

14 एक-अर्कालाई ख्रीष्‍टिय प्रेमले[d] अभिवादन गर।

 
ख्रीष्‍टमा भएका तिमीहरू सबैलाई शान्ति!

<- 1 पत्रुस 4