15 राजा सोलोमनले याहवेहको मन्दिर, उनको राजमहल, कौसीहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउँदा ज्यालाविना खटाएका मानिसहरूको विवरण यस्तो छ। 16 (इजिप्टका राजा फारोले गेजेरलाई आक्रमण गरेर जितेका थिए। अनि त्यसलाई आगो लगाइदिएका थिए। तिनले त्यस सहरमा बस्ने कनानीहरूलाई मारेर त्यो आफ्नी छोरी, अर्थात् सोलोमनकी पत्नीलाई उपहारस्वरूप दिए। 17 अनि सोलोमनले गेजेरलाई पुनर्निर्माण गरे।) तिनले यी कुराहरू बनाए: तल्लो बेथ-होरोन, 18 तिनको देशभित्र मरुभूमिमा भएको बालात र तादमोर, 19 यसको साथमा आफ्ना रथहरू र घोडाहरू राख्न तिनले भण्डार सहरहरू र नगरहरू बनाए। अनि यरूशलेममा, लेबनानमा र तिनले शासन गरेका सबै प्रान्तहरूमा तिनले जे जति बनाउने इच्छा गरेका थिए, ती सबै पूरा गरे।
20 बाँकी रहेका एमोरीहरू, हित्तीहरू, परिज्जीहरू, हिव्वीहरू, यबूसीहरू (यी मानिसहरू इस्राएली थिएनन्), 21 अर्थात् तिनीहरूका देशमा बाँकी रहेका सन्तानहरू, जसलाई इस्राएलीहरूले नष्ट पार्न सकेका थिएनन्। सोलोमनले तिनीहरूलाई दासको रूपमा काम गर्न बाध्य बनाएका थिए, जुन आजको दिनससम्मै कायम छँदैछ। 22 तर सोलोमनले इस्राएलीहरूबाट कसैलाई पनि दास बनाएनन्। तिनीहरू तिनका लडाकु मानिसहरू, सरकारी अधिकारीहरू, तिनका अधिकृतहरू र तिनका रथहरू र घोडचढीहरूका सेनापतिहरू थिए। 23 सोलोमनले आफ्ना परियोजनाहरूमा काम गर्ने मानिसहरूमाथि रेखदेख गर्न 550 जना अधिकारीहरूलाई नियुक्त गरे।
24 दावीदको सहरबाट फारोकी छोरी सोलोमनले तिनका निम्ति बनाएको राजमहलमा आएपछि तिनले कौसीहरू बनाए।
25 सोलोमनले वर्षमा तीन पल्ट याहवेहका निम्ति आफूले बनाएको वेदीमा होमबलि र मेलबलि चढाउँथे। अनि यसका साथसाथै याहवेहको सामु धूप बाल्थे। यसरी तिनले मन्दिरमा गर्नुपर्ने कर्तव्यहरू पूरा गरे।
26 राजा सोलोमनले लाल समुद्रको किनारमा, एदोमको एलोतको छेउमा भएको एस्योन-गेबेरमा जहाजहरू पनि बनाए। 27 अनि हीरामले आफ्ना मानिसहरू, अर्थात् समुद्रका अनुभवी नाविकहरूलाई सोलोमनका मानिसहरूसित जहाजको बेडामा सेवा गर्न पठाए। 28 तिनीहरू समुद्री यात्रा गरेर ओपीरमा गए। अनि चार सय बीस टालेन्ट[d] सुन ल्याए, र ती सुन राजा सोलोमनलाई सुम्पिदिए।
<- 1राजाहरू 81राजाहरू 10 ->