4 इस्राएलका राजाले जवाफ दिए, “हे मेरा मालिक महाराजा, तपाईंले भन्नुभएझैँ म र मसित भएका सबै थोकहरू तपाईंकै हुन्।”
5 दूतहरू फेरि आएर भने, “बेन-हदद यसो भन्छन्: ‘मैले तिम्रो सुन र चाँदी, तिम्रा पत्नीहरू र छोराछोरीहरूको माग गरिसकेको छु। 6 भोलि यही समयतिर म मेरा अधिकारीहरूलाई तिम्रो दरबार र तिम्रा अधिकारीहरूका घरहरूको छानबिन गर्न पठाउनेछु। तिमीले मूल्यवान् ठानेका चीजहरू कब्जा गरेर तिनीहरूले लैजानेछन्।’ ”
7 इस्राएलका राजाले देशका सबै प्रधानहरूलाई बोलाउन पठाए, र तिनीहरूलाई भने, “हेर्नुहोस्, यस मानिसले कसरी झगडा गर्ने मौका खोज्दैछ! त्यसले मेरा पत्नीहरू र छोराछोरीहरू अनि मेरा सुन र चाँदीहरू माग गर्दा मैले तिनलाई इन्कार गरिनँ।”
8 तब सबै प्रधानहरू र मानिसहरूले जवाफ दिए, “तिनको कुरा नसुन्नुहोस्, र तिनका मागहरूप्रति सहमत नहुनुहोस्।”
9 यसकारण तिनले बेन-हददका दूतहरूलाई जवाफ दिए, “मेरा मालिक महाराजालाई भनिदेओ, ‘तपाईंको सेवकले तपाईंले पहिले मागेका कुराहरू सबै दिनेछ, तर यो मागचाहिँ म पूरा गर्न सक्दिनँ।’ ” तिनीहरू गएर त्यो जवाफ बेन-हददकहाँ पुर्याइदिए।
10 तब बेन-हददले आहाबकहाँ अर्को समाचार पठाए: “सामरियामा मेरा प्रत्येक मानिसहरूलाई एक-एक मुट्ठी पनि पुग्ने गरी धुलो बाँकी रहेछ भने मेरा देवताहरूले मप्रति कठोर व्यवहार गरून्।”
11 इस्राएलका राजाले जवाफ दिए, “तिनलाई यसो भन्नू: ‘कवच धारण गर्नेले कवच उतार्नेले झैँ घमण्ड नगरोस्।’ ”
12 जब बेन-हदद र अरू राजाहरू आफ्ना पालहरूमा[a] मद्य पिइरहेका थिए, तब तिनले यो समाचार सुने, र तिनले आफ्ना मानिसहरूलाई “आक्रमण गर्न तयार हुनु” भनेर हुकुम दिए। यसकारण तिनीहरू सहरमाथि आक्रमण गर्न तयार भए।
14 आहाबले सोधे, “तर यो कसले गर्नेछ?”
15 यसकारण आहाबले प्रान्तका सेनापतिहरूका 232 जना जवान अधिकारीहरूलाई बोलाउन पठाए। त्यसपछि तिनले बाँकी रहेका 7,000 इस्राएलीहरूलाई भेला गराए। 16 तिनीहरू मध्यदिनमा निस्के। त्यो समयमा बेन-हददचाहिँ तिनीसित भएका बत्तीस जना राजाहरूसित आ-आफ्ना पालहरूभित्र मद्यले लठ्ठ भइरहेका थिए। 17 प्रान्तका सेनापतिहरूका जवान अधिकारीहरू पहिले निस्के।
18 तिनले भने, “चाहे तिनीहरू शान्तिको निम्ति आएका हुन् अथवा युद्धको निम्ति आएका हुन्, तिनीहरूलाई जिउँदै पक्र।”
19 प्रान्तका सेनापतिहरूका ती जवान अधिकारीहरू सहरबाट अगि-अगि निस्के; र फौजचाहिँ तिनीहरूका पछि-पछि निस्के। 20 अनि प्रत्येकले आफ्नो शत्रुलाई मारे। यसरी अरामीहरू भागे; र इस्राएलीहरूले उनीहरूलाई खेदे। तर अरामका राजा बेन-हदद घोडामा चढेर आफ्ना केही घोडसवारहरूसित उम्किए। 21 इस्राएलका राजा अगि बढे; अनि घोडाहरू र रथहरूलाई नाश गरे, र अरामीहरूको ठूलो नोक्सानी गरे।
22 पछिबाट ती अगमवक्ता इस्राएलका राजाकहाँ आएर भने, “आफ्नो स्थिति बलियो पार्नुहोस्, र अब के गर्ने हो, सो विचार गर्नुहोस्; किनकि आउँदो बसन्त ऋतुमा अरामका राजाले तपाईंमाथि फेरि आक्रमण गर्नेछन्।”
23 त्यसपछि अरामका राजाका अधिकारीहरूले तिनलाई सल्लाह दिए, “तिनीहरूका देवताहरू पहाडका देवताहरू हुन्। त्यसैकारण तिनीहरू हाम्रो निम्ति अधिक शक्तिशाली थिए। तर यदि हामीले मैदानमा तिनीहरूसित युद्ध गर्यौँ भने हामी तिनीहरूभन्दा शक्तिशाली हुनेछौँ। 24 यसो गर्नुहोस्: सबै राजाहरूलाई हटाएर तिनीहरूका ठाउँमा अरू अधिकारीहरूलाई खटाउनुहोस्। 25 तपाईंले गुमाउनुभएको त्यो फौजजतिकै ठूलो सेना आफ्नो निम्ति भेला गर्नुहोस्। अनि घोडाको बदली घोडा, र रथको बदली रथ खडा गर्नुहोस्। अनि हामी इस्राएलीहरूसित मैदानमा युद्ध गर्न सक्नेछौँ। तब हामी निश्चय नै तिनीहरूभन्दा शक्तिशाली हुनेछौँ।” तिनी उनीहरूसित सहमत भए, र त्यस्तै गरे।
26 आउँदो बसन्त ऋतुमा बेन-हददले अरामीहरूलाई भेला गरे, र इस्राएलको विरुद्धमा लडाइँ गर्न अपेकतर्फ गए। 27 इस्राएलीहरूलाई पनि भेला गराइयो, र तिनीहरूका निम्ति खानेकुरा जुटाइयो; अनि उनीहरूसित लडाइँ गर्नलाई तिनीहरू निस्के। इस्राएलीहरू तिनीहरूका सामु बाख्राका दुई वटा साना बथानझैँ छाउनी हालेर बसे; र अरामीहरूले चाहिँ बस्ती नै ढाकेर बसे।
28 एक जना परमेश्वरका जनले आएर इस्राएलका राजालाई भने, “याहवेह यसो भन्नुहुन्छ: ‘अरामीहरूले याहवेह बेँसीको होइन, तर पहाडको देवता हुन् भनी सम्झेका हुनाले म यस विशाल फौजलाई तेरो हातमा सुम्पिदिनेछु। अनि तैँले म नै याहवेह हुँ भनी जान्नेछस्।’ ”
29 सात दिनसम्म तिनीहरूले आमने-सामने छाउनी हालेर बसे, र सातौँ दिन युद्ध भयो। इस्राएलीहरूले एकै दिनमा अरामीहरूका एक लाख पैदल सेनालाई मारे। 30 तिनीहरूका बाँकी रहेकाहरूचाहिँ अपेकको सहरमा भागे, जहाँ तिनीहरूमध्ये सत्ताइस हजारचाहिँ पर्खाल ढलेर मरे। बेन-हददचाहिँ सहरमा भागेर गए, र भित्री कोठामा गएर लुके।
31 तिनका अधिकारीहरूले तिनलाई भने, “हेर्नुहोस्, हामीले इस्राएलका घरानाका राजाहरू कृपालु हुन्छन् भनेर सुनेका छौँ। हामी कम्मरमा भाङ्ग्रा लगाऔँ, शिरमा डोरीहरू बाँधौँ र इस्राएलका राजाकहाँ जाऔँ। सायद तिनले तपाईंको प्राण जोगाइदेलान् कि।”
32 तब तिनीहरूले आफ्ना कम्मरमा भाङ्ग्रा लगाए, र शिरमा डोरी बाँधे; अनि इस्राएलका राजाकहाँ गएर भने, “तपाईंको सेवक बेन-हदद भन्छन्: ‘दया गरी मलाई बाँच्न दिनुहोस्।’ ”
33 ती मानिसहरूले यसलाई एउटा असल लक्षण भन्ने सम्झे, र झट्टै तिनको कुरामा मौका पारेर भने, “हो, तपाईंको भाइ बेन-हदद नै हुन्!”
34 बेन-हददले भने, “मेरा पिताले तपाईंका पिताबाट लिएका सहरहरू म फर्काइदिनेछु। मेरा पिताले सामरियामा गरेझैँ तपाईंले दमस्कसमा आफ्नै व्यापार स्थलहरू राख्न सक्नुहुन्छ।”
36 यसकारण ती अगमवक्ताले भने, “याहवेहको आज्ञापालन नगरेका हुनाले तिमी मबाट जानसाथ एउटा सिंहले तिमीलाई मार्नेछ।” अनि त्यो मानिस जानेबित्तिक्कै एउटा सिंहले भेट्टायो, र त्यसलाई मार्यो।
37 ती अगमवक्ताले अर्को मानिसलाई भेटेर भने, “दया गरी मलाई प्रहार गर्नुहोस्।” यसकारण ती मानिसले तिनलाई प्रहार गरेर घाइते बनाइदिए। 38 त्यसपछि ती अगमवक्ता त्यहाँबाट हिँडे, र तिनले आफ्ना शिरको फेटा आँखासम्म झारेर भेष बदले। अनि बाटोको किनारमा राजाको बाटो हेर्दै पर्खिरहे। 39 जब राजा त्यहाँबाट गए, तब ती अगमवक्ताले कराएर तिनलाई भने, “तपाईंको सेवक लडाइँको मुखैमा पुग्यो। अनि कसैले एउटा कैदी लिएर मकहाँ आएर भन्यो, ‘यस मानिसमाथि नजर राख। यदि यो हरायो भने यसको जीवनको सट्टा तिम्रो जीवन दिनुपर्नेछ, नत्रता तिमीले एक टालेन्ट[b] चाँदी तिर्नुपर्नेछ।’ 40 तपाईंको सेवक यताउता व्यस्त हुँदा त्यो मानिस हराइहाल्यो।”
41 ती अगमवक्ताले झट्टै आफ्ना आँखाबाट त्यो शिरको फेटा हटाए; तब इस्राएलका राजाले तिनलाई अगमवक्ताहरूमध्ये एक हुन् भनी चिने। 42 तिनले राजालाई भने, “याहवेह यसो भन्नुहुन्छ: ‘मैले मारिनैपर्छ भनेर निश्चय गरेको मानिसलाई तैँले छोडिदिइस्। यसकारण त्यसको प्राणको साटो तेरो प्राण र त्यसका मानिसहरूको साटो तेरा मानिसहरू हुनेछन्।’ ” 43 यो सुनेर इस्राएलका राजा उदास र क्रोधित भई सामरियामा भएको तिनको महलमा गए।
<- 1राजाहरू 191राजाहरू 21 ->