3 जसले मेरो बारेमा आलोचना गर्दछन्, उनीहरूलाई प्रतिवादमा मेरो जवाफ यही हो: 4 के हामीलाई खाने र पिउने अधिकार छैन र? 5 के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले जस्तै हामीलाई पनि आफूसँग आफ्नी विश्वासी पत्नीलाई लिएर हिँड्ने अधिकार छैन र? 6 अथवा के बारनाबास र मलाई मात्र जीविका चलाउनका निम्ति काम गर्नुपर्ने हो?
7 आफ्नै खर्चमा सिपाही भएर कसले काम गर्छ र? कसले दाखबारी लगाएर त्यसको फलबाट खाँदैन र? कसले भेडाको बथान पालेर त्यसको दूध पिउँदैन र? 8 के मैले यो साधारण मानव दृष्टिकोणले मात्र भनेको हुँ र? के व्यवस्थाले पनि यही कुरा भन्दैन र? 9 किनकि मोशाको व्यवस्थामा यसरी लेखिएको छ: “अन्नबाली दाइँ गर्दा गोरुको मुखमा मोहोलो नलगाउनू।”[a] के गोरुहरूका बारेमा मात्र परमेश्वरले वास्ता राख्नुहुन्छ? 10 के उहाँले विशेष गरी यो हाम्रा निम्ति भन्नुभएको होइन र? हो, यो हाम्रा निम्ति नै लेखिएको थियो; किनभने जोत्ने र दाइँ गर्नेले फसलको केही हिस्सा पाउने आशामा नै जोत्छ र दाइँ गर्दछ। 11 यदि हामीले तिमीहरूका बीचमा आत्मिक बिउ छरेका छौँ भने तिमीहरूबाट भौतिक थोकको कटनीको आशा गर्नु के यो ठूलो कुरा हो र? 12 यदि तिमीहरूबाट अरूले भौतिक सहयोग पाउने अधिकार छ भने के हामीलाई तिमीहरूबाट त्योभन्दा बढी भौतिक सहयोग पाउने अधिकार छैन र?
13 के तिमीहरूलाई थाहा छैन? मन्दिरमा काम गर्नेहरूले मन्दिरबाट नै खान पाउँछन्, र वेदीमा काम गर्नेहरूले वेदीमा चढाएका चीजहरूबाट हिस्सा लिन्छन्। 14 यसै प्रकारले सुसमाचार प्रचार गर्नेले आफ्नो जीविका सुसमाचारबाटै चलाओस् भनी परमेश्वरले आज्ञा गर्नुभएको छ।
15 तर मैले यी कुनै अधिकारहरू प्रयोग गरेको छैनँ। अनि यी सबै कुराहरू तिमीहरूले मेरा लागि यसरी नै गर भन्ने आशाले मैले यी कुराहरू लेखेको पनि होइनँ। किनकि मेरो गर्व गर्ने कारण कसैलाई खोस्ने अनुमति दिनुभन्दा बरु मेरा निम्ति मर्न असल हुनेछ। 16 किनकि जब म सुसमाचार सुनाउँछु, मैले घमण्ड गर्ने ठाउँ छैन; किनभने म प्रचार गर्न बाध्य छु। मलाई धिक्कार छ यदि मैले सुसमाचार प्रचार गरिनँ भने! 17 यदि मैले आफ्नो इच्छाअनुसार प्रचार गरेँ भने मेरो निम्ति इनाम छ। यदि मैले आफ्नो इच्छाले प्रचार गरिनँ भने मैले ममाथि दिइएको जिम्मेवारी मात्र गरिरहेको हुन्छु। 18 त्यसो भए मेरो इनाम के हो त? यही नै हो कि मैले सुसमाचार प्रचार गर्दा सुसमाचारलाई सित्तैँमा प्रचार गर्न पाऊँ, र सुसमाचार प्रचारकको रूपमा मैले पूर्ण अधिकार प्रयोग गर्न नपरोस्।
- a व्यव 25:4