8 अब अविवाहित र विधवाहरूलाई म यो भन्न चाहन्छु: तिनीहरूले मजस्तै विवाह नगरी बसेको असल हुन्छ। 9 तर यदि तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्; किनकि कामवासनामा जल्नुभन्दा त विवाह गर्नु असल हुन्छ।
10 विवाहितहरूलाई म यो आज्ञा दिन्छु; मबाट होइन, तर प्रभुबाट: पत्नी आफ्ना पतिबाट अलग भएर नबसोस्। 11 तर यदि अलग बस्न चाहन्छिन् भने विवाह नगरी बसोस्; नत्रता फेरि पतिसँग मिलाप गरेर बसोस्। अनि पतिले पनि आफ्नी पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्।
12 अरू बाँकी रहेकाहरूलाई म यो भन्न चाहन्छु; प्रभुबाट होइन, तर म आफैँबाट: यदि ख्रीष्टमा कुनै विश्वासी भाइको विश्वास नगर्ने पत्नी छ, र पतिसँग बस्न चाहन्छे भने उसले पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्। 13 अनि यदि ख्रीष्टमा कुनै विश्वासी स्त्रीको विश्वास नगर्ने पति छ, र पत्नीसँग बस्न चाहन्छ भने उसले पतिसँग सम्बन्ध-विच्छेद नगरोस्। 14 किनकि विश्वास नगर्ने पति पत्नीद्वारा पवित्र तुल्याइएको हुन्छ र विश्वास नगर्ने पत्नी उसको विश्वासी पतिद्वारा पवित्र तुल्याइएकी हुन्छे। नत्रता तिनीहरूका सन्तान अशुद्ध हुनेथिए; तर अब तिनीहरू पवित्र छन्।
15 तर यदि अविश्वासी पति वा पत्नी अलग रहन चाहन्छन् भने ती अलग रहन सक्छन्। यस्तो परिस्थितिमा विश्वास गर्ने पुरुष वा स्त्री कुनै बन्धनमा रहँदैनन्; परमेश्वरले हामीलाई शान्तिमा रहन बोलाउनुभएको छ। 16 हे पत्नी, तिमीलाई के थाहा, सायद तिमीले आफ्ना पतिलाई बचाउन सक्छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि?
21 तिमीहरूको बोलावट हुँदा के तिमीहरू सेवक थियौ? यो कुराको चिन्ता नगर; तर तिमीले स्वतन्त्र हुने मौका पायौ भने त्यसको सदुपयोग गर। 22 किनकि जब प्रभुमा बोलावट पाउँदा कोही व्यक्ति सेवक थियो भने अब ऊ प्रभुको स्वतन्त्र पारिएको मानिस हो; त्यसरी नै जब कोही व्यक्ति बोलावट हुँदा स्वतन्त्र मानिस थियो भने अब ऊ ख्रीष्टको सेवक हो। 23 तिमीहरू मोल तिरेर किनिएका हौ; तिमीहरू मानिसहरूका सेवक नबन। 24 दाजुभाइ-दिदीबहिनीहरू हो, प्रत्येक व्यक्ति परमेश्वरप्रति जिम्मेवार भई, जसले जुन अवस्थामा परमेश्वरबाट बोलावट पाएको छ, त्यही अवस्थामा रहिरहोस्।
29 दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो भनाइको तात्पर्य यो हो, समय थोरै छ। अब उसो पत्नी हुनेहरू पत्नी नभएकाहरूजस्तै भएर जिऊन्; 30 शोक गर्नेहरू, शोक नगर्नेहरूजस्ता होऊन्; आनन्दित हुनेहरू, आनन्दित नहुनेहरूजस्ता होऊन्; किन्नेहरू पनि आफूसित केही थोक नभएकाहरूजस्ता होऊन्; 31 संसारका कुराहरू प्रयोग गर्नेहरू, तिनमा रुचि नलिनेहरूजस्ता होऊन्। किनकि यो संसारको वर्तमान रूप बितिरहेको छ।
32 म यही चाहन्छु, तिमीहरू निस्फिक्री होओ। अविवाहित मानिसले प्रभुलाई कसरी प्रसन्न पारूँ भनी प्रभुकै बारेमा फिक्री राख्दछ। 33 तर विवाहित मानिसले आफ्नी पत्नीलाई कसरी प्रसन्न राखूँ भनी संसारकै बारेमा रुचि राख्दछ। 34 अनि उसका रुचिहरू विभाजित हुन्छन्। अविवाहित स्त्री अथवा कन्याले परमेश्वरको कामबारे रुचि राख्छे: उसको उद्देश्य शरीर र आत्मा दुवैबाट प्रभुमा पवित्र रहने हुन्छ। तर विवाहित स्त्रीले आफ्नो पतिलाई कसरी प्रसन्न राखूँ भनी संसारकै कुराहरूको रुचि राख्छे। 35 यो तिमीहरूकै भलाइको लागि भन्दछु, तिमीहरूलाई प्रतिबन्ध लाउनलाई होइन; ताकि तिमीहरू प्रभुको पूर्ण भक्तिमा जीवन बिताउन सक।
36 यदि कसैले आफूले मगनी गरेको कन्यासँग अनुचित व्यवहार गरेझैँ लाग्छ भने, र त्यस कन्याको उमेर पनि ढल्कँदैगएको छ भने, र उसलाई विवाह गर्नुपर्छ झैँ लाग्छ भने उसले आफूले चाहेझैँ विवाह गरोस्; यसमा उसले कुनै पाप गरेको हुँदैन; तिनीहरूले विवाह गर्नुपर्छ। 37 तर जुन मानिसले आफ्नो मनमा यो विषय समाधान गरिसकेको छ, जो कुनै करकापमा परेको छैन; तर आफ्नो इच्छालाई वशमा राख्न सक्छ, र जसले कन्यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ भने यस्तो मानिसले पनि असल गर्दछ। 38 यसकारण जसले त्यस कन्यालाई विवाह गर्छ, उसले सही गर्छ; तर जसले उसलाई विवाह गर्दैन, उसले अझ असल गर्छ।
39 एउटी स्त्री आफ्नो पति बाँचुन्जेल उसको अधीनमा हुन्छे। तर यदि पति मर्यो भने उसले आफूले चाहेको व्यक्तिसँग विवाह गर्न सक्छे; तर त्यो मानिस प्रभुमा विश्वास गर्ने हुनुपर्छ। 40 मेरो विचारमा यदि ऊजस्तो छे, त्यस्तै अवस्थामा रही भने झन् सुखी हुन्छे; अनि मलाई लाग्छ, तिमीहरूलाई यो सल्लाह दिँदा परमेश्वरको आत्माले मलाई अगुवाइ गर्दै हुनुहुन्छ।
<- 1 कोरिन्थी 61 कोरिन्थी 8 ->