Link to home pageLanguagesLink to all Bible versions on this site
20
रब्बा सहरको कब्जा
1 बसन्त ऋतुमा जब राजाहरू युद्ध गर्न निस्कन्थे, तब योआबले हतियारधारी दलहरूको नेतृत्व गरे। तिनले अम्मोनीहरूको देशलाई सखाप पारे। अनि रब्बा सहरमा गए, र त्यस सहरलाई घेरा हाले; तर दावीदचाहिँ यरूशलेममै बसे। योआबले रब्बामाथि आक्रमण गरेर त्यसलाई ध्वस्त पारे। 2 दावीदले तिनीहरूका राजा[a] मिल्कोमको शिरबाट मुकुट लिए, जसको तौल एक टालेन्ट[b] सुन थियो, र त्यसमा बहुमूल्य पत्थरहरू जडिएका थिए; अनि त्यो मुकुट दावीदको शिरमा लगाइयो। तिनले त्यस सहरबाट धेरै मात्रामा लुटका मालसामानहरू ल्याए, 3 अनि त्यहाँ भएका मानिसहरूलाई निकालेर ल्याए; तिनीहरूलाई आरा, फलामका हतियारहरू र बन्चरोका कामहरू गर्न लगाए। दावीदले अम्मोनीहरूका सबै नगरहरूसित यस्तै गरे। तब दावीद र तिनका सम्पूर्ण सेना यरूशलेममा फर्के।
पलिश्तीहरूसँग युद्ध
4 त्यसपछि गेजेरमा पलिश्तीहरूसँग लडाइँ भयो। त्यस बेला हूशातीमा बस्‍ने सिब्बकैले रपाईहरूको एउटा सन्तान सिप्पैलाई मारे, जसले गर्दा पलिश्तीहरू अधीनमा आए।

5 पलिश्तीहरूसँगको अर्को एउटा लडाइँमा याईरका छोरा एल्हानानले गित्ती गोल्यतको भाइ लहमीलाई मारे, जसको भालाको बिँड कपडा बुन्‍ने तानको डण्डाजस्तै थियो।

6 गातमा अझ अर्को लडाइँ भयो। त्यहाँ दुवै हातमा छ-छ वटा औँलाहरू र दुवै खुट्टामा छ-छ वटा औँलाहरू भएको, जम्मा चौबीस वटा औँलाहरू भएको भयङ्कर मानिस थियो। त्यो मानिस पनि रफाको सन्तान नै थियो। 7 जब त्यसले इस्राएललाई खिसी गर्‍यो, तब दावीदका दाजु शिमेअका छोरा जोनाथनले त्यसलाई मारे।

8 यिनीहरू गातमा भएका रफाका सन्तानहरू थिए। तिनीहरू दावीद र तिनका सेनाहरूका हातबाट मारिए।

<- 1 इतिहास 191 इतिहास 21 ->