5 जब कसैले आएर दावीदलाई ती मानिसहरूको बारेमा भनिदिए, तब तिनले उनीहरूलाई भेट्न दूतहरू पठाए; किनकि तिनीहरूको ठूलो अपमान भएको थियो। राजाले भने, “तिमीहरूका फेरि दाह्री नबढुन्जेल यरीहोमै बस्नू, त्यसपछि मात्र फर्कनू।”
6 जब अम्मोनीहरूले आफूहरू दावीदको दृष्टिमा घृणित भएको थाहा पाए, तब हानून र अम्मोनीहरूले अराम-नहरैम, अराम-माका र सोबाबाट रथहरू र घोडचढीहरू भाडामा लिनलाई एक हजार टालेन्ट[a] चाँदी पठाए। 7 तिनीहरूले बत्तीस हजार रथहरू र घोडचढीहरू, साथै माकाका राजालाई तिनका सेनासँगै भाडामा लिए, जसले आएर मेदेबा सहरको छेउमा छाउनी हाले। अम्मोनीहरू चाहिँ तिनीहरूका सहरहरूबाट भेला भएर लडाइँको निम्ति निस्किए।
8 यो कुरा सुनेर दावीदले योआबसँग सम्पूर्ण लडाकु सेनाहरूलाई पठाए। 9 अम्मोनीहरू आएर सहर जाने मूलढोकामा लडाइँको निम्ति तैनाथ भए; अनि तिनीहरूसित आएका अरू राजाहरूचाहिँ खुला मैदानमा लडाइँको निम्ति आफ्नो स्थान लिए।
10 योआबले आफ्नो अगि र पछि युद्धका मोर्चाहरू खडा भएका देखे; यसकारण तिनले इस्राएलका सबैभन्दा उत्तम सेनाहरूलाई चुने, र तिनीहरूलाई अरामीहरूको विरुद्धमा खटाए। 11 तिनले बाँकी रहेका सेनाहरूलाई आफ्ना भाइ अबीशैको अधीनमा दिए; अनि तिनीहरूलाई अम्मोनीहरूको विरुद्धमा खटाए। 12 योआबले भने, “यदि अरामी सेनाहरूले मलाई जित्दै गए भने तिमीहरू मलाई बचाउन आउनू। तर यदि अम्मोनीहरूले तिमीहरूलाई जित्दै गए भने म तिमीहरूलाई बचाउनेछु। 13 साहसी होऊ, र हाम्रा मानिसहरू र हाम्रा परमेश्वरका सहरहरूको निम्ति हिम्मतका साथ युद्ध गरौँ। याहवेहले आफ्नो दृष्टिमा जे असल छ, त्यो गर्नुहुनेछ।”
14 तब योआब र तिनीसँग भएका सैन्यदल अरामीहरूसँग युद्ध गर्न अगि बढे; अनि अरामीहरू तिनीहरूको सामुबाट भागे। 15 जब अम्मोनीहरूले अरामीहरू भागेका देखे, तब तिनीहरू पनि तिनका भाइ अबीशै र तिनका सेनाहरूको सामुबाट भागेर सहरभित्र पसे। त्यसपछि योआब यरूशलेममा फर्केर गए।
16 जब अरामीहरूले आफूलाई इस्राएलद्वारा परास्त गरिएको देखे, तब तिनीहरूले दूतहरू पठाएर अरू अरामी सेनाहरूलाई यूफ्रेटिस नदी पारिबाट झिकाए। त्यसको नेतृत्वचाहिँ हददेजेरको सेनाको सेनापति शोपकले गरिरहेका थिए।
17 जब यो कुरा दावीदलाई भनियो, तब तिनले सारा इस्राएललाई भेला गराएर यर्दन नदी तरे; दावीद उनीहरूको विरुद्धमा अगि बढे, र तिनीहरूको विरुद्धमा युद्धको मोर्चा बाँधे। दावीदले अरामीहरूसँग युद्ध गर्नलाई आफ्नो पङ्क्ति बाँधे, र तिनीहरूले दावीदको विरुद्धमा युद्ध गरे। 18 तर अरामीहरू इस्राएलको सामुबाट भागे; अनि दावीदले तिनीहरूका सात हजार रथ-सवारहरू र चालीस हजार पैदल सेनाहरूलाई मारे। दावीदले तिनीहरूका सेनाका सेनापति शोपकलाई पनि मारे।
19 जब हददेजेरका अधिकारीहरूले आफूहरू इस्राएलद्वारा परास्त भएको देखे, तब तिनीहरूले दावीदसँग सन्धि गरेर तिनका अधीनमा बसे।
- a लगभग 34 मेट्रिक टन